Breaking News

लण्डन ब्रिजमा आतंकवादीको आक्रमणमा परी ७ को मृत्यु

काठमाण्डौ, २१ जेठ । बेलायतको राजधानी लण्डनमा सवारी साधन र छुरा प्रयोग गरी भएको आतंकवादी आक्रमणमा ७ जनाले ज्यान गुमाएका छन् ।

उक्त आक्रमणमा परी ४८ भन्दा बढी घाइते भएका छन् । राजधानी लण्डन ब्रिजमा कारमा आएका आक्रमणकारीले सुरुमा गाडीले ठक्कर दिएका थिए । गाडीको ठक्करपछि उनीहरु सडकमा ओर्लिएर एकैपटक आक्रमणमा उत्रिएका थिए । उनीहरुले लण्डन ब्रिजमा भेटिए जतिलाई छुरा प्रहार गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ ।

प्रहरीले गरेको जवाफी कारबाहीमा ३ आक्रमणकारी पनि मारिएको जनाइएको छ । घाइते ४८ जनाको नजिकको अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा प्रहरी अधिकारी समेत रहेका छन् । घटनापछि लण्डन ब्रिज रेलवे सेवा बन्द गरिएको छ ।

प्रधानमन्त्री थिसेरा मेले आतंकवादी आक्रमण भएकाले सजग हुन सबैलाइै आग्रह गरेकी छिन् । प्रहरीले घटनाबारे तीव्र अनुसन्धान भइरहेकाले चाँडो भन्दा चाँडो घटनाबारे सत्यतथ्य बाहिर आउने जनाएको छ ।

shares