एमालेले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री निर्वाचन कार्यतालिका प्रभावित

काठमाण्डौ, २१ जेठ । नेकपा एमालेले संसद् अवरूद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित भएको छ ।

प्रधानमन्त्री चयनका लागि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर, शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेपछि बैठक २३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । नेकपा एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया र भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै संसद अवरुद्ध गर्दै आएको छ ।

एमालेले बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले पठाएको पत्रबारे आफूहरुलाई थाहा नभएको तथा संसद पनि अवरुद्ध रहेको अवस्थामा प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने जनाएको हो । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ ।