Breaking News

पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले हरायो

निलम / काठमाण्डौ, १७ जेठ । प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा पश्चिमाञ्चल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले हराएको हो । २ सय ३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल ४०.३ ओभरमा अलआउट हुँदै १ सय ७ रनमै सीमित भयो । ब्याटिङतर्फ सामान्य सुरुवात गरेको मध्यमाञ्चलका ओपनरद्वय इशान पाण्डेले २४ रन बनाउँदा भूपेन्द्र थापा ६ रनमै आउट भए । मध्यमाञ्चलका लागि सुमित महर्जनले १०, समशाद आलमले १५ तथा किशोर महतोले नटआउट २० रन बनाए ।

बलिङतर्फ पश्चिमाञ्चलका लाल अधिकारी र रोहितकुमारले समान ३ / ३ विकेट लिए भने विपीन खत्रीले २ तथा कृष्ण कार्कीले १ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको पश्चिमाञ्चलले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय २ रन बनायो । पश्चिमाञ्चलका लागि सौरभ खनालले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, अन्तिम थापाले ३४, अनिल गुरुङले २८, विधान श्रेष्ठले १८ तथा कृष्ण कार्कीले १५ रन जोडे ।

बलिङतर्फ मध्यमाञ्चलका लागि किशोर महतोले ३, नन्दन यादवले २ तथा कप्तान शरद भेषावकर र शशी केशरीले समान १–१ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत भोलि पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीच खेल हुनेछ ।

shares