फोटोपत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ अाजबाट तालिम सुरु

काठमाण्डौ, १७ जेठ । सूचना विभागको आयोजनामा फोटोजर्नालिस्ट क्लब नेपालले फोटोपत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ फोटोपत्रकारको सेवाकालीन तालिम सुुरु गरेको छ ।

बुधवारबाट नेपाल पर्यटन बोर्डकाे हलमा फेस टु फेस तालिम सुरु भएको हो । तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोटोपत्रकारको सहभागिता रहेको छ । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सूचना विभागका महानिर्देशक कृष्ण राई , नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट लगायत अनलाइन तथा छापा माध्यममा कार्यरत फोटोपत्रकारहरुको सहभागिता रहेको छ ।

सूचनाको महत्वपूर्ण अंगका रुपमा फोटोपत्रकारहरु रहेको भन्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न सीपमूलक तालिम आवश्यक रहेको सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताए ।

तालिममा वर्ल्ड प्रेस फोटो मास्टर क्लासको नोमिनेशन कमिटीका प्रतिनिधि समेत रहेका फिलीपिनका प्रशिक्षक जिम्मी डोमिङो, नरेन्द्र श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । उक्त तालिम जेठ २३ गतेसम्म चल्नेछ ।