October 23, 2017

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ८ स्वर्ण सहित १९ पदक

काठमाण्डौ, १६ जेठ । भुटानमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले फाइटतर्फ ४ स्वर्ण, ३ रजत र १ काँस्य तथा पुम्सेमा ४ स्वर्ण, ३ रजत र ४ काँस्य सहित कुल १९ पदक जितेको छ ।

नेपालका लागि फाइटतर्फ संगीता बस्यालले ६८ किलोमा स्वर्ण पदक जितेकी छन् । सुमित्रा खत्रीले ७६ केजीमा, पुष्प प्रसाद गौतमले ४५ केजी र सुदिप नेपालीले २८ केजीमा स्वर्ण पदक जिते । विवेक श्रेष्ठले ३१ केजीमा, अस्मिता खड्काले ५२ केजीमा र प्रतिज्ञा राजभण्डारीले ७२ केजीमा रजत पदक जिते । निराजन चौधरीले ४५ केजीमा काँस्य पदक जिते ।

त्यसैगरी, तेक्वान्दोका सिनियर प्रशिक्षक समेत रहेका विजय शाह ठकुरीले ५० बर्ष मुनीको पुम्सेमा काँस्य पदक जित्न सफल भए । ४० बर्ष माथिको टिम पुम्सेमा विजय शाहले अशोक खड्का र सरोज गुरुङसँग मिलेर काँस्य पदक जित्न सफल भए । पुम्सेमै रेजिन रिमालले ३९ बर्ष मुनि स्वर्ण दिलाए । पुम्सेको २९ बर्षमुनिको पुरुषमा सञ्जिव ओझाले रजत र महिलामा नमिका मोक्तानले रजत तथा ३९ वर्षमुनि राजकुमार माझीले काँस्य पदक जितेका छन् ।

पुम्सेतर्फ नै २९ बर्षमुनिको निता गुरुङ्गले स्वर्ण पदक जितेकी छिन् । यसै उमेर समुहको युगलमा अस्मिता खड्का र सञ्जिव ओझाले स्वर्ण जिते । अस्मिता र निताले नमिता गुरुङ्गसँग मिलेर टिमतर्फको पुम्सेमा पनि स्वर्ण जिते । २९ वर्षमुनिको पुरुष टिममा सञ्जिव ओझा, रेजिन रिमाल र प्रदिप आले मिलेर काँस्य पदक जिते ।

१९ बर्ष मुनिको युगलमा नमिता मोक्तान र प्रदिप आलेले काँस्य पदक जितेको राष्ट्रिय टोलीका ब्यबस्थापक हेमन्त डाँगीले जानकारी दिए ।