October 24, 2017

वर्षा वाधक बनेपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले अंक बाँडे

काठमाण्डौ, १६ जेठ । प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलबीचको खेल बराबरीमा टुंगिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा निरन्तर वर्षा बाधक बनेपछि दुवै टोलीले १ / १ अंक बाँडेका हुन् । मध्यपश्चिमाञ्चलले दिएको १ सय २४ रनको चुनौती पछ्याएको मध्यमाञ्चलले ४.र्२ ओभरमा खेलिरहँदा पानी परेपछि खेल रोकिएको हो ।

वर्षा हुनुअघि मध्यमाञ्चल एक विकेट गुमाएर २३ रनको स्थितिमा थियो । खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलका ओपनर हरिशंकर शाह शून्य रनमै आउट भए ।

यसअघि, टस हारेपछि पहिले ब्याटिङका लागि मैदानमा उत्रिएको मध्यपश्चिमाञ्चल ४३.२ ओभरमा अलआउट हुँदै १ सय २३ रनमा सीमित भयो । उसका दुई ओपनर सुशान्त थापा शून्य तथा सुभेन्दु पाण्डे ८ रनमै पेवेलियन फर्किए । मध्यपश्चिमाञ्चलका लागि राजवीर सिंहले सर्वाधिक ६३ रन बनाए । त्यस्तै, प्रनित थापा मगरले २० तथा अमर रौटेलाले १० रन बनाउनुबाहेक मध्यपश्चिमाञ्चलका अरु खेलाडी दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ मध्यमाञ्चलका किशोरी महतोले ४ हरिशंकर शाहले २ तथा रशिद खानले १ विकेट लिए । प्रतियोगिताअन्तर्गत भोलि मध्यमाञ्चल र पश्चिमाञ्चलबीच खेल हुनेछ ।