October 19, 2017

चुनाव केन्द्रित नेपाल भारत सीमा बैठक सफलतापूर्वक सम्पन्न

नरेश के.सी. / भैरहवा, १६ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा सुरक्षा बैठक भैरहवामा सम्पन्न भएको छ ।

बैठकमा दुई देशका सुरक्षा अधिकारीले नेपालमा हुने निर्वाचनलाई शान्तिपूर्ण र सहज बनाउनका लागि सीमामा सुरक्षाको राम्रो प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा सहभागी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहले स्थानीय तहको निर्वाचनमा सीमा पारीबाट हुनसक्ने अवान्छित क्रियाकलापमा पूर्ण रोक लगाइने भारतीय पक्षले प्रतिबद्धता जाहेर गरेको बताए ।

निर्वाचन भन्दा ४८ घण्टा पहिला देखी नै सीमा नाका बन्द गराउने संयुक्त बैठकले निर्णय गरेको छ । सीमा सुरक्षामा आपसी सहयोग, दशगजा क्षेत्रको अतिक्रमण रोक्ने, लागुऔषधमा रोक, अपराध नियन्त्रणका लागि संयुक्त गस्ती र सुरक्षा संवेदनशीलता विषयमा सूचना आदन प्रदान गर्ने विषयमा छलफल भएको समेत प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट रुपन्देही, कपिलवस्तु , नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा प्रमुखहरु र भारतबाट महाराजगञ्ज, बलरामपुर, सिद्धार्थनगरका डिएम, सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।