October 19, 2017

लुम्बिनी तौलिहवा सडक निर्माणमा अनियमितता भएको भन्दै स्थानीयको विरोध

खग प्रसाद चापागाई / कपिलवस्तु, १६ जेठ । लुम्बिनी विकास कोष र पुरातत्व विभागको चलखेलले लुम्बिनी देखी तौलिहवा सडकलाई डबललेन मात्र बनाउन थालिएको भन्दै कपिलवस्तुबासी आन्दोलित भएका छन् ।

एशियाली विकास बैङ्कको सहयोगमा बन्न थालेको सडकलाई भैरहवा देखी तौलिहवासम्म चारलेनको बनाउने योजना थियो । तर अहिले भैरहवा देखि लुम्बिनी सम्म चारलेन र लुम्बिनी देखी तौलिहवा सम्म डबललेन मात्र हुन थालेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाललाई चारलेन सडकका लागि पुनः टेन्डर आव्हान गर्नु पर्ने माग सहित ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा लुम्बिनी तौलिहवा सडक समेत चारलेनको हुनु पर्ने माग सहित माग पुरा नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझदै प्रजिअ बिष्णु प्रसाद ढकालले आफूले माग सम्बोधनका लागि सम्बन्धित निकायलाई पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफूहरुको माग अनुरुप चारलेनको सडक निर्माणको प्रक्रिया अघि नबढाइए शसक्त आन्दोलन गर्ने स्थानीयले बताए ।