June 27, 2017

थाइल्यान्ड ओपन कराँते च्याम्पियनसिपका लागि नेपाली टाेली बैंकक जाँदै

काठमाण्डौ, ७ वैशाख । थाइल्यान्ड ओपन कराँते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली कराँते टोली शुक्रबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दैछ ।

अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा सोनाम लामा, ६० केजीमा रविन्द्र कार्की, ८४ केजीमुनि दिवस श्रेष्ठ र विप्लव श्रेष्ठ तथा ८४ केजीमाथि लेखनाथ मैनालीले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ ५० केजीमा कुसुम खड्का र अनु अधिकारी, ५५ केजीमा मनीषा चौधरी, ६१ केजीमा सपना लामा, ६८ केजीमुनि विभूषा थापा तथा ६८ केजीमाथि कल्पना बस्नेतले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

टिम प्रशिक्षकमा अक्बर शाह, कुशल श्रेष्ठ र दीपक श्रेष्ठ तथा अफिसियलमा मधु लामा र फुर्वा लामा रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बिदाइ गरे । यो टोली बाहेक ७ खेलाडीसहित १० सदस्यीय नेपाली कराँते टोली सोही प्रतियोगिताका लागि यसअघि नै बैंकक पुगिसकेको छ ।