August 17, 2017

संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गर्न महाअभियोग फिर्ताः केन्द्रीय सदस्य विश्वकर्मा

भक्तपुर, १६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गर्न प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता लिइएको बताएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले कराउँदैमा गणतन्त्र आउँछ भन्ने एमाले अध्यक्ष ओली, नेपालमा संघीयता हुन नसक्ने भन्ने चित्रबहादुर केसी र हिन्दूराज्य र राजतन्त्रको वकालत गर्ने कमल थापा एउटै मनस्थितिको भएको आरोप लगाए । साथै विश्वकर्माले यी तीनवटै दललाई अहिले पनि दरबारको सहयोग मिलेको र यिनीहरु दरबारबाटै परिचालित भएको दाबी समेत गरे ।

उनले मधेशवादी दलको संघीयता, नेकपा माओवादी केन्द्रको गणतन्त्र र नेपाली कांग्रेसको मुद्दा मिलेको कारण पनि अब नेपाली कांग्रेस नेतृत्वको सहमतीय सरकार बन्ने र नेपाली कांग्रेस दोस्रो स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी समेत गरे ।