दोस्रो चरणको निर्वाचन ९ असारमा

काठमाण्डौ १६ जेठ । सरकारले आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन गर्ने गरी नयाँ मिति तय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

‘खासगरी मुस्लिम समुदायको पवित्र रमजान चाडलाई ध्यानमा राख्दै असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएको छ । त्यो प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका संसद्मा लगिँदैछ’, सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने, त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७४ /७५ को आयव्यय विवरण (बजेट)लाई पनि पारित गरेको छ।