August 20, 2017

एपीएफले पश्चिमाञ्चललाई १६ रनले हरायाे

काठमाण्डौ, १५ जेठ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा एपीएफले पश्चिमाञ्चललाई १६ रनले हराएको हो । वर्षाका कारण प्रभावित खेलमा डकवर्थ लुईस नियमका आधारमा पश्चिमाञ्चल १६ रनले पराजित भएको हो ।

३७ ओभरमा ४ विकेट गुमाएको एपीएफ एक सय ६० रनको स्थितिमा रहँदा वर्षाको कारण खेल अवरुद्ध हुन पुग्यो । निरन्तर मौसम खराब भएपछि खेल २० ओभरमा झारियो । यस्तोमा खेल जित्न एक सय ४८ रनको आवश्यकता रहेको पश्चिमाञ्चल २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३१ रनमै रोकियो ।

खेलमा पश्चिमाञ्चलका लागि सौरभ खनालले ९० रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । बलिङतर्फ एपीएफका लागि ज्ञानेन्द्र मल्लले ३ तथा सन्दिप झोरा, अभिनाश बोहोरा र भुवन कार्कीले समान १/१ विकेट लिए ।

यसअघि, टस गुमाएर पहिले ब्याटिङ गरेको एपीएफले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ६० रन बनायो । एपिएफका लागि ओपनर सुवास खकुरेलले अर्धशतकीय पारी खेले । त्यस्तै, प्रदीप ऐरीले नटआउट ४५, ज्ञानेन्द्र मल्लले नटआउट ३३ रन जोडे ।

पश्चिमाञ्चलका लागि लाल अधिकारीले २ तथा धिरज शाही र विपिन कार्कीले १/१ विकेट लिए । प्रतियोगिताअन्तर्गत भोलि मध्यमाञ्चल र मध्ये पश्चिमाञ्चलबीच खेल हुनेछ ।