October 23, 2017

पत्रकार उपचार कोषलाई सिम्रिक सहकारीकाे ५१ हजार सहयाेग

बिर्तामोड, जेठ १५ । झापा बिर्तामोड ४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था ले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत र सचिव सुवास भट्टराईले उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी लाई प्रदान गरे । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

सहयोग हस्तान्तरण समारोहमा अध्यक्ष सापकोटा, कोषका संयोजक एवं महासंघका उपाध्यक्ष गिरी, महिला उपाध्यक्ष भीमा शिवाकोटी, सहसचिव केशव भट्टराई, सदस्य सुशीला संग्रौलाले सिम्रिकको सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गरे ।