August 22, 2017

दश लाख व्यक्तिलाई रोजगारी दिने याेजना बनाउँदै उद्योग मन्त्रालय

काठमाण्डौ, ७ वैशाख । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी दश वर्षभित्र उद्योग क्षेत्रबाट दश लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ ।

विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा मन्त्रालयले स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन यो योजना सार्वजनिक गरेको हो ।

दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने तयारीका साथ योजना बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । लगानीकर्तालाई कानूनी रुपमा कुनै समस्या नहुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता पनि मन्त्री जोशीले जनाए ।

छलफलमा कूटनीतिक नियोगका प्रतिनिधिहरुले उद्योगको वातावरण बनाउन सरकारले जग्गा प्राप्तिलाई सहज बनाउनुपर्ने, लगानीका लागि सरकारका विभिन्न निकायमा धाउनुपर्ने झन्झटलाई औद्योगिक ऐनमा भएको व्यवस्थाअनुरुप एकल बिन्दु सेवाको स्थापना गरिनुपर्नेमा जोड दिए ।

मन्त्रालयले नेपालमा औद्योगिकीकरणका लागि विदेशी लगानी भित्राउने उद्देश्यले गत फागुन २२ र २३ गते लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा विदेशी लगानीकर्ताले रु १४ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।