August 19, 2017

लमजुङमा अलैंची बिरुवाको नयाँ मूल्य निर्धारण

काठमाण्डौ, १४ जेठ । अलैंचीको बिरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैंचीको नयाँ मूल्य निर्धारण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैची बिरुवाको नयाँ मूल्य निर्धारण गरेका हुन् । नयाँ मूल्य अनुसार प्रति बिरुवा ७ रुपैयाँदेखि १० रुपैयाँसम्म निर्धारण गरिएको छ । गुणस्तर र जातका आधारमा मूल्य निर्धारण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुुसार रामसाई, गोलसाई र भरलाङ्गे जातको गुणस्तरीय बिरुवाको मूल्य प्रतिगोटा १० रुपैयाँ र सामान्य बिरुवाको ८ रुपैयाँ निर्धारण गरिएको छ । डम्वरसाई, साउने र जिर्मले जातका गुणस्तरीय विरुवाको ९ रुपैयाँ र सामान्य विरुवाको ७ रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ । जिल्लामा करिब साढे २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको छ ।

यस वर्ष अलैंची बिक्रीबाट किसानले १० करोड ६७ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन् । गत वर्ष १२ करोड ४० लाख रुपैयाँ बराबरको अलैंची उत्पादन भएको थियो ।