August 19, 2017

स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनः केपी ओली

काठमाण्डौ, ७ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताएका छन् ।

थाइल्यान्डमा नियमित उपचार गरी बिहीबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनमा वाधा पुग्ने र असम्बन्धित विषय अघि सारेर अल्मल्याउने काम गर्न नहुने बताए ।

तोकिएको समयमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहोर्‍याउँदै अध्यक्ष ओलीले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुन्छ भन्नेमा ‘बट र इफ’ भन्ने नहुने स्पष्ट पारे । विभिन्न मधेसी दल आपसमा एकीकरण हुनु सकारात्मक कार्य हो भन्दै उनले पार्टीको निर्वाचन घोषणापत्र र उम्मेदवार चयन अन्तिम प्रक्रियामा रहेको पनि उल्लेख गरे ।

ओलीले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकको सुझावअनुसार हर्नियाको शल्यक्रिया गरिएको र त्यो सफल भएको बताए । अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्बाङ लगायतले स्वागत गरेका थिए ।