October 22, 2017

सप्तरीमा चुनावकाे चहलपहल तीव्र

दिनेश शर्मा/ राजविराज, १४ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय निर्वाचनमा भाग नलिने भन्दै आन्दोलन सुरु गरेपनि सप्तरीका ठुला दलहरुमा भने चुनावी चलह पहल बढेकाे छ ।
दलहरु यतिवेला उमेदवार छनौटका लागि आन्तरिक तयारीमा जुटेका छन् । उमेद्वारका आकांक्षीहरुको पनि टिकटका लागि दौडधुप जारी छ । नेकपा एमाले उम्मेद्वारी छनौटमा अग्रपंतिमा देखिएको छ । जिल्लाका ९ नगरपालिका र ८ गाउँपालिका मध्ये अधिकांशमा उम्मेद्वारको टुङ्गो समेत लगाई सकेको छ ।
एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेका अनुसार मेयरका लागि कंचनरुपमा वसन्तकुमार मिश्र, सप्तकोशीमा उत्तमकुमार गौतम, सुरुङ्गामा रामनारायण चौधरी, शम्भुनाथमा जितेन्द्र प्रसाद गुप्ता, वोदेवरसाईमा कमाल अहमद र हनुमाननगर–कंकालिनी नगरपालिकामा शोभितलाल यादवलाई उम्मेद्वार बनाईने भएको छ ।
यसैगरी डाकनेश्वरीमा अब्दुल मजिद साकिर, कर्ण देव र शोभाकान्त राय मध्ये एक जनालाई मेयरको उमेदवार वनाईने अध्यक्ष न्यौपानेले बताए । खडक नगरपालिकाममा भने वृजनारायण साहको नाम मेयरका लागि तय गरिएको उनको भनाई छ । राजविराज नगरपालिकाको मेयर उम्मेद्वारका लागि छलफल जारी रहेको भएपनि अहिलेसम्ममा कसलाई उम्मेद्वार बनाउने भन्ने टुङ्गो लागि सकेको छैन ।
गाउँपालिकातर्फ रुपनीका लागि रामभज यादव र असर्फि यादव मध्ये एक, कृष्णसवरण गाउँपालिकाका लागि मोतिलाल चौधरी र वद्रिनारायण चौधरी मध्ये एक, तीरहुत गाउँपालिकामा दिपेन्द्रकुमार लगरवार, महदेवा गाउँपालिकामा राजाराम यादव, विष्णुपुर गाउँपालिकामा अशोक यादवको नाम अध्यक्षका लागि तय गरिएको छ । तिलाठि कोईलाडी गाउँपालिकाको उम्मेद्वार भने अहिलेसम्म टुङ्गो लागि सकेको छैन ।
उता, नेपाली कांग्रेसले समेत उम्मेद्वारका लागि सक्रियता बढाएको छ । गाउँ र नगरपालिकावाट अध्यक्ष–उपाध्यक्ष तथा मेयर–उपमेयरका लागि सिफारिस आउनेक्रम जारी रहेको जानकारी दिदै पार्टी सभापति दिनेश कुमार यादवले दुई–तीनदिन भित्र यस बारे टुङ्गो लागि सक्ने बताए । ‘सकेसम्म स्थानीय तहवाटै नाम स्विकृत भएर आओस भन्नेमा हामी छौं’ उनले भने–‘यदि त्यसरी भएन भने मात्र जिल्ला र केन्द्रले टुङ्गो लगाउने छ ।’
संघिय समाजवादी फोरम नेपालले पनि निर्वाचनमा उम्मेद्वार छनौट कार्यलाई तिव्रता दिएको छ । उक्त पार्टीका अध्यक्षका अनुसार दुई दिनभित्रै उमेदवारहरुको टुङ्गो लागिसक्ने छ । नेकपा माओवादी केन्द्रले समेत स्थानीय तहमै उमेदवार छनौटका लागि छलफललाई तिव्र बनाएको सप्तरी ईन्चार्ज असर्फि सदाले बताएका छन् ।
निर्वाचन कार्यालयले पनि निर्वाचनका लागि जिल्लाका ४ सय ६१ मतदान केन्द्रमा एक/एक जना स्व‌ंयम सेवक खटाई मतदाता शिक्षालाई तिव्र बनाएको छ । प्रथम चरणमा निर्वाचन भएका कतिपय ठाउँमा वढि मतपत्र बदर भएको कुरा आएपछि मतदाता शिक्षालाई प्रभावकारी वनाउन लागिएको निर्वाचन कार्यालय प्रमुख महेश ठाकुरले जानकारी दिए ।
निर्वाचनका लागि जेष्ठ ६ गतेदेखि प्रमुख निर्वाचन अधिकृतको कार्यालय समेत सञ्चालनमा आईसकेको छ । अन्य १६ वटै स्थानीय तहमा जेष्ठ १५ गतेदेखि निर्वाचन कार्यालय स्थापना हुने उनले बताए ।
अर्कोतर्फ आन्दोलनरत राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका जिल्ला संयोजक सुनिलकुमार झाले सरकारले आफुहरुको माग पुरा नगरिकन निर्वाचनमा जानुको औचित्य नभएको बताए । पार्टीले निर्वाचनको विरोधमा मसाल जुलुस, लाठि जुलुस, निर्वाचन कार्यालयमा तालावन्दी लगायत मधेश–थरुहट बन्द समेतको घोषणा गरेको छ ।