अजित मिजार र लक्ष्मी परियारको परिवारलाई १०/१० लाख, दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद्को निर्देशन

काठमाण्डौ, ७ वैशाख । अन्तरजातीय विवाहका कारण गैरदलित परिवारबाट मारिएका काभ्रे पाँचखालका अजित मिजार र काभ्रेकै लक्ष्मी परियारको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीको प्रस्तावमा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रति परिवार १० लाख राहत दिने निर्णय गरेको हो । त्यस्तै लक्ष्मी परियारको छोरा छोरीको लालनपालन तथा शिक्षाको समेत जिम्मेवारी सरकारले लिने भएको छ ।

स्थानीय कल्पना पराजुलीसँग विवाह गरेका अजित मिजारलाई गत असारमा धादिङको कुम्पुर गाविसस्थित फुर्के खोला किनारमा हत्या गरिएको थियो । त्यस्तै बोक्सीको आरोपमा काभ्रेकै लक्ष्मी परियारलाई मलमूत्र खुवाएर गैरदलितले हत्या गरेका थिए ।

यी दुबै घटना छानबिन गर्नका लागि यसअघिको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रीपालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले उक्त घटनामा दोषी रहेका व्यक्तिहरुको किटानी समेत गरेको छ ।

दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ । त्यस्तै मृतक अजित मिजारको शव प्रक्रिया पुर्‍याएर आफन्तलाई जिम्मा लगाउन पनि मन्त्रिपरिषद् बैठकले निर्देशन दिएको छ ।