August 17, 2017

लमजुङमा यो वर्षको अलैँचीको विरुवाको मुल्य निर्धारण

सृजना घिमिरे / लमजुङ १३ जेठ  । अलैँचीको विरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैँचीको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैँचीको विरुवाको नयाँ मूल्य निर्धारण गरेका हुन् ।

नयाँ मुल्य अनुसार अलैँचीको प्रति विरुवा ७ रुपैयाँदेखि १० रुपैयाँसम्म निर्धारण गरिएको छ । अलैँचीको गुणस्तर र जातका आधारमा मुल्य निर्धारण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुुसार रामसाई, गोलसाई र भरलाङ्गे जातको गुणस्तरीय विरुवाको मुल्य प्रतिवटा १० रुपैयाँ र सामान्य विरुवाको ८ रुपैयाँ निर्धारण गरिएको छ । डम्वरसाई, साउने र जिर्मले जातका गुणस्तरीय विरुवाको ९ रुपैयाँ र सामान्य विरुवाको ७ रुपैयाँसम्म मुल्य निर्धारण गरिएको छ । गतवर्ष प्रति विरुवा १२ रुपैयाँ निर्धारण गरिएको थियो ।

जिल्लामा करिब साढे २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको छ । अलैंची प्राविधिकहरूका अनुसार ८ सयदेखि २ हजार १ सय मिटर उचाइको सेपिलो ठाउँमा अलैंची खेती हुन्छ । जिल्लामा रामसाई, गोलसाई, डम्बरसाई, भलाँगे, जिर्मले प्रजातिका अलैंची खेती गरिँदै आएको छ । अलैंची व्यवसायी संघका अनुसार यहाँ उत्पादन हुने अलैंचीको बजार भारत हो ।
यस वर्ष अलैंची बिक्रीबाट किसानले १० करोड ६७ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन् । गत वर्ष १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेका थिए ।