August 19, 2017

पोखरामा स्पेशल तेक्वान्दो ग्रेडिङ सम्पन्न

कास्की १३ जेठ। पोखराको हेम्जामा अनाथ र असाहय बालबालिका लक्षित गरी सुरु भएको तेक्वान्दो स्पेशल कोर्समा सहभागी खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

शनिबार कास्कीको हेम्जास्थीत असाहय बाल उपकार संघमा खेलाडीको ग्रेडिङ सम्पन्न भएको हो । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको दोस्रो चरणको ग्रेडिङमा कुल २४ खेलाडीले परिक्षामा सहभागीता जनाएका थिए ।

‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नाराका साथ भएको उक्त तालिम दश महिनासम्म आठ अनाथ बालबालिका संरक्षित संस्थामा सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमबाट कुल आठ संस्थाका करिब ३ सय बालबालिकाले तेक्वान्दो खेल खेल्न लाभ प्राप्त गर्नेछन् । उक्त अवधिभर खेलाडीलाई निशुल्क ग्रेडिङ र प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ ।