October 19, 2017

सिराहामा तीन वर्ष यताकै सबैभन्दा बढि गहुँ उत्पादन

दिनेश शर्मा /राजविराज, ७ वैशाख । गहुँखेतीका लागि अग्रणी मानिएको सिराहा जिल्लामा यसवर्ष पछिल्ला तीन बर्ष यताकै सबैभन्दा बढी गहुँ उत्पादन भएको छ ।

आवश्यक्ता अनुसार गुणस्तर बिऊ, बिऊ छरेपछि पर्याप्त बर्षा, कीटनाशक औषधीको प्रयोग लगायतका सबै पक्ष सकारात्मक भएका कारण उत्पादमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सिराहाले जनाएको छ । यसवर्ष कुल खेतीयोग्य जग्गा मध्ये १८ हजार १ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकाे र ३६ हजार २ सय मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयले जनाएको छ ।

गतबर्ष १५ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा गहुँखेती गर्दा २६ हजार ५ सय ३७ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यसैगरी, आर्थिक बर्ष ०७०/०७१ मा ३३ हजार ३ सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

आर्थिक बर्ष २०६९/०७० मा सिराहामा २७ हजार ५ सय १८ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयका प्रवक्ता हरिशचन्द्र पण्डितले जानकारी दिए।