August 19, 2017

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य छिटो अगाडि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाण्डौ, १२ जेठ । संसदीय समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य छिटो अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुंग्याई कार्य अगाडि बढाउन सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन छिटो सम्पन्न गर्न वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले निजगढ विमानस्थलको निर्माण कार्य ढिला भइरहेको स्वीकार गर्दै यसको निर्माणको ढाँचाबारे राजनीतिक सहमति कायम गर्ने प्रयास थालिएको बताए ।

त्यस्तै भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यमा हाल देखापरेको अवरोध हटाउन तथा पोखरा विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।