August 16, 2017

राजपालाई मनाउन यस्तो कसरत

काठमाण्डाै १२ जेठ ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने अवस्थामा तीन पार्टीबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ ।

भक्तपुरस्थित ठाकुर निवासमा भएको वार्तामा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न, संविधान संशोधन र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको माग पूरा भए निर्वाचनमा जान सकिने प्रस्ताव राखेका छन् । राजपा अध्यक्ष ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिह्न दिनुपर्ने र संविधान संशोधन हुनुपर्ने मागलाई चुनावमा सहभागिताको सर्तका रूपमा लिएका थिए ।

गच्छदार र यादवसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न नभएकाले निर्वाचनमा जान नसकिने बाध्यता देखाएका छन् ।स्रोतका अनुसार ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिह्न दिलाइदिन तथा संसद्बाट संविधान संशोधन गराउनसमेत पहल गरिदिन यादव र गच्छदारलाई आग्रह गरेका थिए ।

‘हामी चुनावविरोधी होइनौं तर आयोगमा न पार्टी दर्ता छ न हामीले चुनाव चिह्न पाएका छौं, अनि चुनावमा कसरी जाने ? ‘ त्रिपक्षीय छलफलमा ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । ठाकुरको प्रस्तावमा गच्छदार र यादवले राजपालाई चुनाव चिह्न दिलाउने र सकेसम्म चुनावअगावै अन्यथा चुनावपछि संविधान संशोधन गराएरै छाड्ने आश्वासन दिएका थिए ।

६ वटा मधेसकेन्द्रित दल मिलेर हालै बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन । उसको कुनै चुनाव चिह्न छैन । पार्टी एकीकरणअघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिह्न, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए । डेढ घन्टासम्म भएको छलफलमा गच्छदार र यादवले आफूहरूले राजपाको मागका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग पुनः अनौपचारिक परामर्श गर्ने आश्वासन दिएको दाबी स्रोतले गर्‍यो । याे खबर अन्नपूर्ण पोस्टमा छ ।