October 22, 2017

पुँजीगत खर्च बढाउन सरकारले विकास निर्माणका कामलाई तीव्रता दिने

काठमाण्डौ, ७ वैशाख । सरकारले पुँजीगत खर्च बढाउन विकास निर्माणका कामलाई अझ तीव्रता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक बर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च बढ्न नसकेपछि विकास निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले बिपी कोइराला पार्क सिन्धुलीको दुम्जामा र पुष्पलाल पार्क रामेछापमा बनाउने निर्णय गरेको छ । पार्क निर्माणको अध्ययनका लागि ५० लाख छुट्याइएको छ । सरकारले नेपाल वायु सेवा निगमलाई वाइड बढी जहाज निकाल्नका लागि अनुमति दिँदै जमानी बस्ने निर्णय पनि गरेको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिए ।

बैठकले युरोपियन युनियनलाई जग्गा खरिद गर्न अनुमति दिने, नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले बताए । बैठकले धुर्मुस सुन्तलीद्वारा बर्दिवासमा निर्मित एकीकृत मुसहर बस्तीको लागि सरकारले रजिष्ट्रेशन शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ ।