Breaking News

सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयहरु (विस्तृतमा) –

काठमाण्डौ, ११ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारको तर्फबाट राष्ट्रपति विद्या भण्डारीले बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रममा संघीय ढाँचा अनुसारको केन्द्र, प्रदेश र स्थानीय तहको योजना र प्राथमिकता उल्लेख गरिएको छ ।

संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा संविधानको कार्यान्वयन, तीन वटै तहको निर्वाचन र राष्ट्रिय आयोजनाका कामलाई उच्च प्राथमिकता दिइएको छ । राष्ट्रपति भण्डारीले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने, राष्ट्रिय आयोजनाहरुको कामलाई निरन्तरता दिइनेमा पनि जोड दिइन् ।

उक्त प्रतिवेदनमा स्थानीय र प्रदेशलाई अधिकार सम्पन्न बनाउन आवश्यक स्रोत, साधन र जनशक्ति तत्काल उपलब्ध गराउने, आर्थिक वृद्धिदरलाई उच्च प्राथमिकता दिने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिने, उज्यालो नेपाल अभियान कार्यक्रमलाई निरन्तरता दिने लगायतका कार्यक्रम पनि समावेश गरिएको छ । शान्ति प्रक्रियालाई पनि पुर्‍याउने प्रतिवद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण र नवनिर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक नीति तथा संरचनाको व्यवस्था गर्ने पनि स्पष्ट रुपमा बताइएको छ। त्यसैगरी वैदेशिक लगानी र सहयोगलाई प्राथमिकतामा राखेर भ्रष्टाचार नियन्त्रण र पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिइने बताइएको छ ।

सरकारको प्राथमिकतामा परेका अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौ निजगढ द्रूतमार्ग, निर्यात व्यापारलाई प्रभावकारी बनाउने र कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने लगायतका कार्यक्रम पनि समाविष्ट छन् । त्यसैगरी जलविद्युत आयोजनाको कामलाई तोकिएकै मितिमा सम्पन्न गर्नेगरी अघि बढ्ने पनि जनाइएको छ ।

सरकारले सन्तुलित सहर निर्माण, जनता आवास कार्यक्रम, लुम्विनी, पशुपति जस्ता धार्मिक क्षेत्रको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने अभियानलाई पनि निरन्तरता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्वास्थ्य र शिक्षालाई विकासको पर्याय मान्दै स्वस्थ, शिक्षित र सभ्य समाज निर्माणका लागि गुणस्तरीय शिक्षामा विशेष जोड दिइने कुरा उक्त कार्यक्रममा छ । माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने र सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई पनि निरन्तरता दिइने बताइएको छ ।

सरकारले विज्ञान र प्रविधिको विकासमा जोड दिँदै परराष्ट्र नीतिलाई मजबुत बनाउन कुनै पनि कसर नराख्ने कुरा अथ्र्याएको छ । दुबै छिमेकी मुलुकसँगको सम्बन्धलाई सुधार गरी आर्थिक समृद्धिको सपनालाई पुरा गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममार्फत व्यक्त गरिएको छ।

साथै मानव अधिकारको प्रत्याभूति, सामाजिक न्यायको व्यवस्था गर्ने प्रतिबद्धता पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सरकारले निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै पुरानै नीति तथा कार्यक्रममा जाेड दिइएकाे हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते  बजेट पेश गर्नुपर्ने भएकाेले सरकारले विहिबार नीति तथा कार्यक्रम संसद मार्फत सार्वजनिक गरेको हो ।

shares