October 23, 2017

पत्रकार उपचार कोषलाई कञ्चनजंघा अंग्रेजी माविकाे ५१ हजार सहयाेग

बिर्तामोड, जेठ ११। झापा, बिर्तामोड ४ स्थित कञ्चनजंघा अंग्रेजी मावि तथा कञ्चनजंघा नमूना कलेजले पत्रकार सहारा उपचार कोष झापाका लागि ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपानेले आज बिहीबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सदस्य सचिव केशव भट्टराईलाई प्रदान गरे । मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्‍याउन पत्रकार महासंघले थालेको अभियानको न्यौपानेले सराहना गरे ।

नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।

महासंघका उपाध्यक्ष एवं कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।