बाँकेको खजुरा गाउँपालिकाको वडा नं ५ मा नमुना मतदान कार्यक्रम सम्पन्न

कमला हमाल / बाँके, ११ जेठ । बाँकेको खजुरा गाँउपालिकाको वडा नम्बर ५ उढरापुर कार्यालयमा आज नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जको आयोजनामा मतदाता शिक्षा प्रभावकारी र घरदैलो सम्म पुर्‍याउनका लागि नमूना मतदान आयोजना गरिएको हाे ।

पहिलो चरणको चुनावमा बदर सङख्या धेरै भएको गुनासो आएपछि दोश्रो चरणको चुनावमा त्यो अवस्था नदोहोरियोस् भन्ने उद्देश्यका साथ नमुना मतदान आयोजना गरिएको क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले जानकारी दिए ।

मतदान कार्यक्रममा उपस्थित सहभागिहरुले जेठ ३१ गतेको चुनावमा सही तरिकाबाट मतदान प्रक्रियामा भाग लिने बताए । यसका साथै आयोगले प्रभावकारीताको लागि स्थानीय भाषामा नै श्रव्यदृश्य सामग्री स्थानीय सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण गरिने बताएको छ ।

झण्डै २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ ।