प्रथम प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको दोस्रो जीत

निलम / काठमाण्डौ, ११ जेठ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले पूर्वाञ्चललाई ९ै विकेटले हराउँदै दोस्रो जित हात पारेको हो । पूर्वाञ्चलले दिएको १ सय ५ रनको सामान्य लक्ष्य पुलिसले १७.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो । पुलिसलाई लगातार दोस्रो जित दिलाउन ओपनर सुनिल धमलाले अर्धशतकीय पारी खेल्दै नटआउट ५२ रनको योगदान दिए । त्यस्तै दिलिप नाथले नटआउट ३६ रन जोडे ।

यसअघि, टस हारेर पहिले ब्याटिङका लागि मैदानमा निम्त्याइएको पूर्वाञ्चल ३७.१ ओभरमा १ सय ४ रन बनाउँदै अलआउट भयो । पूर्वाञ्चलका लागि मेहबुब आलमले सर्वाधिक ४० रन र ओपनर अमल दासले १३ रन बनाए । पुलिसका लागि सिद्धिन्त लोहनीले ३, ललित भण्डारी र सुशिल कँडेलले समान २/२ तथा कुशल भुर्तेल र मन्जित श्रेष्ठले समान १/१ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत भोलि पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलबीच खेल हुँदैछ ।