August 16, 2017

मध्यपुर थिमि नगरपालिकाका पदाधिकारीद्वारा सपथ ग्रहण

भक्तपुर ११ जेठ । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका मध्यपुर थिमि नगरपालिकाका पदाधिकारीहरुले आज सपथ तथा पदभार ग्रहण गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना गरिएको एक कार्यक्रममा नगरपालिकाका प्रमुख मदन सुन्दर (जगुलु) श्रेष्ठ तथा उप प्रमुख अन्जना देवी मधिकर्मी, ९ वटै वडाका प्रमुख र सदस्य गरी ४४ जनाले सपथ ग्रहण गरेका हुन् ।

नगरपालिकाका प्रमुख तथा उप प्रमुख र वडाका प्रमुखले मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोख्रेलबाट सपथ लिई सकेपछि नगरपालिकाका प्रमुख श्रेष्ठबाट वडाका विजयी सदस्यहरुले सपथ लिएका थिए ।

पद बहाली पछि मेयर श्रेष्ठले मध्यपुर थिमिबासीहरुको मतको कदर गर्दै नगरलाई सुशासन, पारदर्शी र जवाफदेहिता बनाउने आफ्नो पहिलो प्राथमिकता रहने बताए । साथै उपमेयर मधिकर्मीले नगरमा रहेका महिलाहरुका स्तन र पाठेघर क्यान्सर रोगको उपचारमा विशेष छुटमा गर्ने, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिने तथा वृद्धवृद्धाहरुलाई उचित सम्मान दिने आफ्नो पहिलो काम रहने बताइन् ।

त्यस्तै, वडाअध्यक्ष तथा सदस्यहरुले सपथ ग्रहणपछि वडा कार्यालयमा गएर पदभार तथा जिम्मेवारी सम्हालेका छन् ।