September 20, 2017

कर्मचारीलाई बोनस नबाँड्न आयल निगमलाई निर्देशन

काठमाण्डौ ११ जेठ । संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले आयल निगमलाई बोनस नबाँड्न निर्देशन दिएको छ ।

उपभोक्ताबाट स्वभाविक भन्दा बढी मूल्यमा बिक्री गरेको रकमलाई नाफा मानी ऐन कानुनको छिद्रबाट नाफा परिभाषित गर्नु अनुचित भन्दै बोनस वितरण नगर्न निर्देशन दिएको हो।  उक्त रकम भौतिक पूर्वाधार विकास अथवा मूल्य स्थिरीकरढ कोषमा जम्मा गर्न समितिले निर्देशन दिएको छ।

‘पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार प्राप्त सरकारी स्वामित्वको सार्वजनिक संस्थानले इन्धन जस्तो अत्यावश्यक वस्तुमा उपभोक्ताबाट बढी मूल्य लिई नाफा मानेर बोनस छुट्याउन मिल्दैन। महालेखा परीक्षकको कार्यालय ५४ औं प्रतिवेदनले समेत बोनस वितरण गर्न नमिल्ने बताएको छ’ बुधबारको बैठकमा संयोजक सुभाषचन्द्र ठकुरीले भने ‘बोनस छुट्याउने कार्य उचित, न्यायसंगत र जवाफदेही छैन।

बोनसका लागि छुट्याएको रकम कानुनी प्रक्रिया पूरा गरी निगमको भौतिक पूर्वाधार विकास वा मूल्य स्थिरीकरण कोषमा जम्मा गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिन्छु।’ बोनस ऐन २०३० देखाउँदै बोनस उठाउन नमिल्ने उनले बताए। बोनस ऐन संशोधनको विधेयक संसदमा छलफल भइरहेकाले ऐन संशोधन पश्चात सोही अनुसार चल्नुपर्ने सांसद ठकुरीले बताए।

हाल निगमले बोनस शीर्षकमा दुई अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी व्यवस्था गरेको छ। प्रतिस्पर्धा नगरी परल मूल्य भन्दा बढी शुल्क लिएको अवस्थामा नाफा भन्न मिल्ने कि नमल्ने संयोजक ठकुरीले प्रश्न गरे। उनले बोनस बाँड्नकै लागि इन्धनमा बढी मूल्य राखेको आरोप लगाए।  याे खबर कान्तिपुरमा छ ।