October 19, 2017

मोरङमा ४० किलो चाँदी सहित अग्रवाल दम्पती पक्राउ

उद्धव घिमिरे / विराटनगर, १० जेठ । मोरङ प्रहरीले विराटनगर भन्सार क्षेत्रबाट बुधवार मध्यान्ह ४० केजी चाँदी सहित एक दम्पतिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर –१० शान्ति चोकका ३८ वर्षीय सञ्जय अग्रवाल र उनकी ३७ वर्षीया श्रीमती सीमा अग्रवाल छन् । विराटनगरबाट भारतीय सीमा जोगवनी प्रवेश गर्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर बीआर ३८ एफ ७८०० को मारुती सुजुकी अल्टो कारको चालक सिट मुनि २० केजी र अगाडीको अर्को सिट मुनि २० केजी बुनियाँको दाना जस्तो पारेर लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा चाँदी बरामद गरिएको सीमा प्रहरी चौकी रानीका प्रहरी नायव निरिक्षक फिरोज चौधरीले जानकारी दिए ।

पक्राउ परेका अग्रवाल दम्पति, कार र चालकलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएका नायव उपरिक्षक भट्टराईले बताएका छन् । यस अघि पनि भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले विराटनगर भन्सार क्षेत्रबाट ठूलो परिमाणमा चाँदी बरामद गरेकाे थियो ।