October 19, 2017

प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी 

निलम / काठमाण्डौ, १० जेठ । नेपाल पुलिस क्लबले प्रथम प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको दोस्रो खेलमा पुलिसले सुदूर पश्चिमाञ्चललाई ७ विकेटले हराएको हो । समूह ‘बी’ अन्तर्गत भएको खेलमा १ सय ७१ रनको लक्ष्य पुलिसले २४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

पुलिसको जितमा ओपनर अमित श्रेष्ठले ७५, दिलिप नाथले ४०, दिपेन्द्र सिंह ऐरीले २७ तथा आरिफ सेखले ८ रनको योगदान दिए । सुदूर पश्चिमका लागि सागर भण्डारी, विकास अग्री र भिम सार्कीले समान १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रिएको सुदूर पश्चिमले ४८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रन बनायोे । सुदूर पश्चिमका लागि ज्ञानेन्द्र कुँवरले सर्वाधिक ४९ रन बनाए ।

त्यस्तै, भिम सार्कीले २८, सन्तोष भट्टले २५ तथा रोशन नेपालीले २१ रन बनाउँदा अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन् । पुलिसका लागि सुशिल कँडेलले ५, ललित भण्डारीले ३ तथा आरिफ सेखले १ विकेट लिए ।