October 22, 2017

सुवर्णपुर गाउँपालिका टुक्राएको विरोधमा अनिश्चितकालीन बन्दको घोषणा

राम कुशवाहा / वीरगञ्ज, ९ जेठ । मन्त्रीपरिषद् बैठकले पर्सा जिल्लाको सुवर्णपुर गाउँपालिका टुक्राएको विरोधमा सुवर्णपुरवासीले आजबाट अनिश्चितकालको लागि बन्दको घोषणा गरेको छ ।

सरकारले तराईका १२ जिल्लामा २२ वटा स्थानीय तह थप गर्ने निर्णयसँगै सुवर्णपुर गाउँपालिका टुक्रिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यस अघि ७ सय ४४ वटा स्थानीय तह रहँदा सेढवा, महादेवपट्टि, सुवर्णपुर, निर्मलबस्ती र ठोरी गाविसलाई गाभेर सुवर्णपुर गाउँपालिका कायम गरिएको थियो ।

सरकारको निर्णयको बिरोधमा उनिहरुले प्रधानमन्त्री दाहाल, संघीय मामला तथा स्थानीय विकासमन्त्री गच्छदार, नेकपा एमालेका सांसद जयप्रकाश थारु र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीको पुत्ला दहन समेत गरेका छन् । सुवर्णपुर गाउँपालिका टुक्राउने सरकारको निर्णय विरुद्ध अनिश्चितकालिन सुवर्णपुर बन्द गरिएको स्थानिय युवा निरज प्रधानले जानकारी दिए ।

सरकारले विभेदकारी निर्णय गरेको भन्दै सुवर्णपुर, महादेवपट्टी, सेढवा र निर्मलवस्तीका स्थानीय आन्दोलनमा उत्रिएका हुन् । स्थानीय बासिन्दाले सुवर्णपुरलाई नगरपालिका बनाउन माग समेत गरेका छन् ।