Breaking News

दिवंगत डा. देवकोटाको अार्यघाटमा दाहसंस्कार

काठमाण्डौ, ५ असार । दिवंगत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह दाहसंस्कार गरिएको छ । उनकाे पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा तथा छोरीहरू मेघा, वसुधा र मञ्जरीले दिउँसो साढे ३ बजे दागबत्ती दिएका हुन् ।

त्यसअघि पशुपतिमा देवकोटाको पार्थिव शरिरलाई कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए भने सशस्त्र प्रहरीले देवकोटाको सम्मानमा अन्तिम सलामी अर्पण गरेको थियो । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जलि दिन ठूलो संख्यामा आफन्त र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।

डा. देवकोटाको पशुपति अार्यघाटमा विद्युतीय मेसिनबाट दाहसंस्कार गरिएको हो । अन्तिम संस्कारका लागि पशुपति ल्याउनुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान ८ देखि १ बजेसम्म न्युरो अस्पताल, बाँसबारीमा राखिएको थियो ।

डा. देवकोटाको काजकिरिया पनि श्रीमती तथा छोरीहरूले गर्ने तथा काजकिरिया ७ दिनमा सकिने परिवार स्रोतले जनाएको छ ।

पित्तनलीको क्यान्सरबाट ग्रसित डा. देवकोटाको निधन उपचारका क्रममा बाँसबारीस्थित आफ्नै अस्पतालमा सोमबार साँझ ५ बजेर ३५ मिनेटमा भएको थियो।

shares