Breaking News

बाल्यकालको सहपाठी गुमाउनुको पीडा असह्य हुँदो रहेछ: डा. भट्टरार्इ

काठमाण्डौ, ५ असार । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालार्इ अन्तिम श्रद्धान्जलि अर्पण गर्न विभिन्न दलका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरू न्यूरो अस्पताल पुगेका छन् ।

दिवंगत देवकोटालार्इ अन्तिम श्रद्धान्जलिका लागि न्यूरो अस्पताल पुगेका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई निकै भावुक देखिए । उनले आफ्नो बाल्यकालदेखिको साथी गुमाउनु पर्दा अत्यन्तै पीडा भएको बताए ।

भट्टराईले भने ‘डा. देवकोटा एक अद्भुत क्षमता भएका व्यक्ति थिए, उनको अभाव सदैव राष्ट्रलाई हुनेछ, बाल्यकालको सहपाठी गुमाउनुको पीडा असह्य हुँदो रहेछ।’

पित्तनलीको क्यान्सरबाट ग्रसित देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो । २०१० साल पुस ४ गते जन्मिएका देवकोटाले ३४ वर्षको अवधिमा २५ हजारभन्दा बढीको शल्यक्रिया र १० लाखभन्दा बढी बिरामी जाँच गरेका थिए ।

सोमबार साँझ ५:३५ बजे निधन भएका डा. देवकोटको मंगलबार नै दाहसंकार गरिने भएको छ ।

shares