October 24, 2017

चारमध्ये तीन महानगरमा अग्रता बढाउँदै एमाले

काठमाण्डौ, ९ जेठ । स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन भएका चारवटै महानगरपालिकाको मतगणना जारी छ ।

एकातिर मतगणनाको कार्य भइरहेको छ भने अर्काेतिर कुन पार्टीले जित्ला भनेर जनताहरुमा उत्साह बढिरहेको छ । यद्दपि ताजा मतगणनालाई हेर्ने हो भने चार महानगर मध्ये तीनवटा महानगरमा एमालेले अग्रता कायम गरिराखेको अवस्था छ ।

काठमाण्डौ महानगरमा एमालेका बिद्यासुन्दर शाक्यले ३८ हजार ९ सय ५५ मत प्राप्त गर्दा प्रतिद्वन्दी कांग्रेसभन्दा ११ हजार बढि मतले अग्रता कायम गरेका छन् । कांग्रेसका राजुराज जोशीले २७ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरमा भने रोचक प्रतिस्पर्धा चलिरहेको छ । कांग्रेसका चिरीबाबु महर्जनले २३ हजार ५ सय ३९ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २३ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । ताजा अवस्थामा यी दुईबीच मात्र १ सय ७९ मत अन्तर देखिएको छ ।

अर्काे महानगर भरतपुरमा पनि एमालेले ३ हजार मत बढिको अग्रता कायम गरेको छ । एमालेका उम्मेदवार देवी ज्ञवालीले २५ हजार ८ सय ७७ मत प्राप्त गर्दा कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले २२ हजार १ सय ६ मत प्राप्त गरेकी छिन् ।

पोखरा महानगरमा पनि एमाले ४ हजार बढि मतान्तरले अग्रस्थानमा रहेको छ । एमालेका उम्मेदवार मानबहादुर जिसीले २८ हजार ८ सय ५९ मत प्राप्त गर्दा कांग्रेसकै रामजी कुँवरले २४ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् ।