संसद छाडेर जनतामाझ जाने कांग्रेसको चेतावनी

काठमाण्डौ, ३१ जेष्ठ । सरकारले संविधान, ऐन, कानून, नियम मिच्न थालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरूले कर्मचारी र जनतालाई तर्साउने काम गरेको बताए । संसदमा प्रतिपक्षीले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जानुको विकल्प नहुने चेतावनी उनले दिए ।

सरकारलाई नियम, कानून र संविधानअनुसार काम गर्न आग्रह गर्दै रिजालले सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक व्यवस्थालाई दलीय स्वार्थअनुसार अपव्याख्या गरिएकामा आपति जनाए । रिजालले सार्वजनिक प्रशारण सेवा बनाउन लागिएको नेपाल टेलिभिजनमा मन्त्रीको सम्पत्ति विवरण देखाउँदैमा कार्यक्रम बन्द गर्ने निर्णय आपत्तिपूर्ण भएको बताए ।

बैठकमा रिजालसहित ६ जना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राखेका छन् ।