Breaking News

युवा संघ र वाईसीएलका कमिटिहरू तत्कालका लागि स्थगित गर्ने निर्णय

काठमाण्डौ, ३१ जेष्ठ । तत्कालीन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका कमिटिहरूलाई तत्कालका लागि स्थगित गरिएको छ ।

दुई संगठनको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले संगठनका कमिटिलाई विघटन नभई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । संगठन विस्तारका लागि दुवै संगठनका नेता सम्मिलित कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि बैंठकले गरेको वाईसियल नेपालका अध्यक्ष दिपशिखाले जानकारी दिए ।

कार्यदलदलले एकीकृत संगठनको नाम, विधान र सांगठनिक संरचनाको नामका साथै विचारका विषयमा पनि टुङ्गो लगाउने छ । दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको दिपशिखाको भनाइ छ । अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको युवा भ्रातृ संगठनमा दुवै पार्टीका युवा नेता समावेश गर्नुपर्ने भएकाले झण्डै चारसयको केन्द्रीय समिति बन्ने जनाइएको छ ।

बैठकमा युवा संगठनले लिने रणनीति, पार्टी र सरकारको पनि समीक्षा गरेको छ । बैठकमा कम्युनिष्ट सरकार हुँदासमेत जनताको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

shares