आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइयो

काठमाण्डौ, ३१ जेष्ठ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउने गरिन्छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

दिवसलाई नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरूलाई सम्मान गर्ने अवसरको रूपमा समेत लिने गरिएको छ । दिवसका अवसरमा विभिन्न स्थानमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपालमा रगतको माग उच्च रहेपनि माग बमोजिम संकलन हुन नसकेको चिकित्सकले बताएका छन् । संकलन गरिएका रगतको म्याद हुने भएकाले रगतको उचित तवरले व्यवस्थित गर्नुपर्ने प्रसुति गृह रक्तसञ्चार केन्द्रका ईन्चार्ज परशुराम दाहालको भनाइ छ ।

मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।