उद्घाटन खेल अायोजक रुस र साउदी अरेवियाबीच हुने, जितको लागि ‘गर या मर’को अवस्था

काठमाण्डौ, ३१ जेष्ठ । फुटबलको महाकुम्भ विश्वकप प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार राती आयोजक रुसले साउदी अरेवियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आयोजकका लागि यो विश्वकपमा दोस्रो चरणमा पुग्न पनि ठूलो चुनौती देखिएको छ । यसअघि तीन पटक विश्वकप खेलेको भएपनि एक पटक पनि समूह चरण पार गर्न नसकेको रुस दोस्रो चरणमा पुग्नु नै ठूलो सफलता हुने अनुमान गरिएको छ । फिफा वरियतामा पनि ३२ प्रतिस्पर्धीमध्ये सबैभन्दा अन्तिममा रुस हुनुले रुसलार्इ कमजोर अाँक्नु स्वभाविक देखिन्छ ।

यदि दोस्रो चरणमा प्रवेश पाउन असफल भए आयोजकको नाताले समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिकापछि दोस्रो देश रुस हुनेछ । विश्वकपमा सहभागी ३२ देशको तुलनामा सर्वाधिक कमजोर टिमका रूपमा हेरिएको रुस र साउदीको भिडन्त पहिलो जितका लागि दुवै टिमलाई ‘गर या मर’को अवस्था देखिन्छ ।

रसिया र साउदी अरेविया समान स्तरका प्रतिद्वन्द्वी हुन् । यी दुवै देशले केही समययता देखाएको प्रदर्शन सन्तोषजनक छैन । साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ ।

त्यस्तै, रुसले गत वर्ष स्पेनलाई बराबरीमा रोक्दा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग हार व्यहोर्नु परेको थियो । यद्यपि अन्तिम मैत्रिपूर्ण खेलमा रुसले टर्कीसँग १–१ गोलको बराबरी खेलेको छ । तर उसले खेलेका अघिल्ला कुनै पनि सात मैत्रीपूर्ण खेलमा जित ननिकालेकाले चुनौती स्वभाविक रूपमा आयोजकलाई बढी छ।