Breaking News

अाजदेखि ‘विश्वकप फुटबल प्रतियोगिता २०१८’ सुरु हुँदै

काठमाण्डौ, ३१ जेष्ठ । आज रातिदेखि विश्व फुटबलको कुम्भमेला मानिने ‘फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८’ सुरु हुँदैछ । रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा ८० हजार दर्शकको उपस्थितिमा २१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विशेष समारोहका बीच विधिवत उद्घाटन हुनेछ ।

प्रतियोगितामा ६ क्षेत्रमा भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुँदैछ । ८ समूहमा रहेका ४–४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ । समूह चरणबाट छानिएका २–२ टिम अन्तिम १६ मा पुग्नेछन् । त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र विजेताले उपाधिको ट्रफी उचाल्नेछ ।

बिहीबार साँझ हुने उद्घाटन समरोहमा ब्रिटेनका गायक रोबी विलियम्सले आफ्नो प्रस्तुती दिनेछन्। उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिना र ब्राजिलका पूर्व फुटबलर रोनाल्डोले साथ दिनेछन्। उद्घाटन समारोह आधा घन्टा चल्नेछ । राति सवा ८ बजे सुरु हुने समारोह आधा घण्टा चलेपछि रसिया र साउदी अरेबियाबीचको खेल सुरु हुनेछ ।

रसिया विश्वकपका लागि ३२ टिमका कुल ७ सय ३६ खेलाडी सहभागी हुँदैछन् । यी मध्ये २ सय खेलाडीको विश्वकपमा दोस्रो पटकको सहभागिता हो । जसमा सन् २०१४ को विश्वकप खेलेका १ सय ८६ र सन् २०१० को विश्वकप खेलेका ६१ खेलाडी छन्। २१ खेलाडी सन् २००६ को विश्वकप खेलेका छन् । मेक्सिकोको डिफेन्डर राफा मार्क्युज भने २००२ मा जापान र कोरियामा भएको विश्वकप खेलेका खेलाडी पनि हुन् । उनी मैदान उत्रिएको खण्डमा पाँचवटा विश्वकप खेल्ने चौथो खेलाडी बन्नेछन् ।

इंग्ल्यान्डको राष्ट्रिय टिममा परेका सबै खेलाडी आफ्नै देशको लिग खेलेका छन्। यस्तै रसियाको टिममा रहेका २३ मध्ये २१ खेलाडी आफ्नै देशमा लिग खेल्छन्। साउदी अरेबियाको टिममा पनि २० खेलाडी घरेलु लिग खेल्ने खेलाडी छन् । यता सेनेगल र स्विडेनको राष्ट्रिय टिमका सबै खेलाडी विदेशी लिग खेल्ने छन् । बेल्जियम, आइसल्यान्ड, नाइजेरिया र स्विट्जरल्यान्डको टिममा घरेलु लिग खेलेका १-१ खेलाडी मात्र परेका छन् । रसिया विश्वकपका लागि राष्ट्रिय टिममा परेका ७४ प्रतिशत खेलाडी युरोपियन लिग खेलिरहेका छन्।

मेक्सिकोका राफा मार्क्युज र अर्जेन्टिनाका जाभियर मास्चिरानो हाल विश्वकपमा सबैभन्दा बढी १६-१६ खेल खेल्ने खेलाडी हुन् । जस्तै लिओनल मेसीले १५ खेल, मेसुट ओजिलले १४ खेल खेलका छन् । थोमस मुलर, म्यानुयल नेउर, सर्जिओ रामोस र क्रिस्टियानो रोनाल्डो विश्वकपका १३-१३ खेलमा मैदानमा उत्रिएका खेलाडीहरू हुन् ।

shares