प्रदेश १ सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर, ३० जेष्ठ । प्रदेश नम्बर १को प्रदेश सभा नियमावली २०७४ को नियम ३८९२० बमोजिम आर्थिक वर्ष २०७५/७६को लागि प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री शेरधन राइले दिएका हुन् । रातमा सपना देखेर कागजको पुलिन्दा बाड्नेले देश बिगारेको भन्दै जवाफ सुरु गरेका मुख्यमन्त्री राईले पहिलो पटक बलियो सरकार आएको यो सरकार विकास र समृद्धिको यात्रामा इमान्दारीपूर्वक लाग्ने बताए ।

नीति तथा कार्यक्रम अखण्ड पुराण पनि होइन र कागजको पुलिन्दा पनि नभएको भन्दै जवाफ फर्काउने क्रममा मन्त्री राइले पटक-पटक ‘कागजको पुलिन्दा ’ वाक्य दोहोर्याएका थिए । उनले भने ‘ म राम्रो बुझ्छु, विपक्षी साथीहरूले आफ्नो प्रतिपक्षको धर्म निर्वाह गर्दै गर्दा यस्तो अभिव्यक्ति आएको हो ।’ मुख्यमन्त्रीले भने ‘हामी रातमा सुतेर कागजका पुलिन्दा बाँड्न यस सभामा आएका होइनौं ।’

मन्त्री राइले सदनलाई जवाफ दिने क्रममा देश बनाउन आएका हुनाले प्रदेश १ लाई मोडेल प्रदेश बनाउने जिकिर गरे । उनले पहिलो सरकार र पहिलो अभ्यास भएकोले धेरै क्षेत्रलाई समेट्नु परेकोले नीति तथा कार्यक्रम केही लामो भएको बताए । उनले सबै क्षेत्रलाई समेट्नु सरकारको बाध्यता पनि भएको बताएका थिए । आगामी वर्षमा यो छोटिंदै जाने समेत बताए ।

उनले प्रतिक्ष दलले उठाएका विषयहरू आफूले बोल्दै गर्दा सम्बोधन भइसकेको जिकिर गरेका थिए । उनले प्रदेशको सदनमा प्रधानमन्त्रीले गरेको सम्बोधनमाथि प्रतिपक्षले गरेको टिप्पणी माथिको तामेली भएको बताएका थिए । संघीयता कार्यान्वयनको सम्बन्धमा उठाएको शंकालाई उनले सिमित साधन स्रोतो र नयाँ अभ्यासको बावजुद पनि कार्यान्वयन गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले महिला हिंसाको विरुद्धमा कडा कानून बनाएर नियन्त्रण गर्न १ प्रदेश सरकार प्रतिबद्ध रहेको जिकिर गरे । उनले वालविवाह, वालश्रम नियन्त्रणमा सरकार केन्द्रित हुने जिकिर गरे । सुरक्षा व्यवस्थापन र भ्रष्टचार नियन्त्रणमा कुनै सम्झौता नहुने उनले बताए । मन्त्री राइले आगमी पाँच वर्ष भित्रमा सुकुम्बासीहरूको विषयमा अध्ययन गरी सकुम्बसी समस्या पूर्ण रूपमा समाधान गर्ने जिकिर गरे ।

सरकार अलमलमा नरहेको प्रष्ट पार्दै मुख्यमन्त्री राइले भने ‘विराटनगर विमान स्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन पहल सुरु भइसकेको छ ।’ उनले ६ महिना भित्र प्रदेश नम्बर १ को विकास र समृद्धिको मास्टर प्लान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । दुर्इ दिनसम्म चलेको नीति तथा कार्यक्रममाथिको छलफलमा ३७ संसदले आफ्नो धारणा राखेका थिए । सत्ता पक्षका २९, प्रतिपक्षका ४ र अन्य दलका ४ जना संसदले नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा आफ्नो धारणा सदनमा राखेका थिए । त्यसको जवाफ बुधबार मुख्यमन्त्री शेरधन राइले दिएका हुन् ।

आर्थिक वर्ष २०७५/७६ को लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसोधन प्रस्ताव हालेका थिए । त्यसै गरी संघीय समाजवादी फोरमको तर्फबाट जयराम यादवले पनि संशोधन प्रस्ताव दर्ता गराएका थिए । यादवले प्रस्ताव फिर्ता लिए भने कार्कीले फिर्ता लिएनन् ।