Breaking News

विद्युत् चोरी नियन्त्रण गर्न गृृह र ऊर्जा मन्त्रालयले संयुक्त अभियान चलाउने

काठमाण्डौ, ३० जेष्ठ । विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी रूपमा कार्यान्वयनमा ल्याउन गृह र ऊर्जा मन्त्रालयले संयुक्त अभियान चलाउने भएको छ ।

दुई मन्त्रालयका मन्त्रीसहित, सचिव तथा सरोकारवाला निकायका प्रमुखको बुधबार सिंहदरबारमा बसेको बैठकले संयुक्त रूपमा बिजुली चोरी नियन्त्रण अभियान थाल्ने निर्णय गरेको उर्जा मन्त्री वर्षमान पुनले जानकारी दिए । बिजुली चोरी नियन्त्रण गर्नका लागि प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्याल्य र विद्युत् प्राधिकरण शाखा कार्यालयबीच समन्वय गरी संयुक्त कार्ययोजना तयार गरी अभियान सञ्चालन गर्ने मन्त्री पुनले जानकारी दिए ।

त्यस्तै विद्युत आयोजना निर्माण क्षेत्रको सुरक्षाका लागि पनि ऊर्जाले गृहमन्त्रालयसंग समन्वय गर्ने भएको मन्त्री पुनले बताए । जग्गा अधिग्रहण गर्ने सम्बन्धमा विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालयले आपसी समन्वयमा गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिने निर्णय पनि भएको छ ।

त्यस्तै, सडक निर्माणका सन्दर्भमा विद्युतका पोलहरू समस्याको रूपमा देखा परेको भन्दै अन्तर निकायगत समन्वय गरी अत्यावश्यक क्षेत्रमा तत्काल बिजुलीका पोलहरू सार्ने निर्णय भएको मन्त्री पुनले बताए ।

ऊर्जा आयोजनामा निर्माण भइरहेका काममा ढिलासुस्ती र गुणस्तरमा कमीकमजोरी भएमा गृहमार्फत कारवाही गर्ने निर्णय पनि भएको उनले बताए ।

shares