चौथो विश्व योग दिवस मनाउन मूल समिति गठन

काठमाण्डौ, ३० जेष्ठ । चौथो विश्व योग दिवस नेपालमा विभिन्न कार्यक्रमका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मूल समिति गठन गरिएको छ ।

मन्त्रालयमा बुधबार आयोजित मूल समितिको पहिलो बैठकले सरकारी, सामाजिक क्षेत्रका व्यक्ति, संस्था एवं विद्यालयलाई परिचालन गरी योग दिवस मनाउन एक सय २९ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा सम्बद्ध क्षेत्रका पदाधिकारीको प्रतिनिधित्व रहने मन्त्रालयले जनाएको छ । जुन २१ अर्थात असार ७ मा विश्वभर विश्वभर योग दिवस मनाइन्छ । बैठकमा मन्त्री पोखरेलले योग र ध्यानलाई केन्द्रमा राखेर अभियानका रूपमा दिवस मनाउन आग्रह गरे ।

उनले योग एक खोजमूलक अनुसन्धानसमेत भएकाले आधुनिक जीवनशैलीले ल्याएको परिवर्तनलाई अनुकूल बनाउन योगको महत्व हुने बताए । उनले योगलाई जीवनोपयोगी शिक्षा र स्वास्थ्यसँग जोड्दै विद्यालय तहदेखि योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिए।

बैठकका सहभागीहरूले सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्नुपर्ने, सम्बन्धित संस्थाहरूबीच समन्वय हुनुपर्ने, साताव्यापी रूपमा दिवस मनाइनुपर्ने सुझाव दिएका थिए । मूल समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ ।