Breaking News

सभामुख र उपसभामुख सम्बन्धमा संवैधानिक व्यवस्था कार्यान्वयनको माग

काठमाण्डौ, ३० जेष्ठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनको माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन गर्न माग गरेका हुन् ।

संविधानको धारा ९१ (२) अनुसार सभामुख र उपसभामुख फरक दलको हुुनुपर्ने प्रावधानको कार्यान्वयन हुनुपर्ने खाँडको जिकिर थियो । संसदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया भएको भन्दै नेकपा गठन भएकामा बधाई र शुभकामना पनि उनले दिए ।

बैठकमा नेकपाका सचेतक खगराज अधिकारीले कांग्रेसका प्रमुख सचेतक खाणको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेका अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनु नहुने विषय बारम्बार कुरा उठाइनु ठीक नभएको टिप्पणी गरे ।

त्यसैगरी सांसद भरतकुमार शाहले उत्कृष्ट प्रजातान्त्रिक देशमा पनि सभामुख र उपसभामुख भिन्न दललाई दिने चलन रहेको भन्दै प्रजातान्त्रिक पद्धति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए ।

shares