‘हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने’

काठमाण्डौ, ३० जेष्ठ । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको बुधबार काठमाण्डौमा उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका हुन् ।

आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रासमार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाड्ने उनले प्रतिबद्धता जनाए । व्यवसायीको जिउधन र व्यवसायिक सुरक्षाका लागि सरकार कटिबद्ध रहेको बताउँदै मन्त्री थापाले यस किसिमको गतिविधि गर्नेको सूचना गृहमन्त्रालयमा दिन व्यवसायीहरूलाई आग्रह गरे । मन्त्री थापाले विकास र समृद्धिको बाधक अपराधिक गतिविधि, कुशासन र भ्रष्टाचार भएकोले सरकारले यी सबै बाधक तत्वलाई हटाउने लक्ष राखेको बताए ।

महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिए । महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुने महासंघले जनाएको छ । महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।