जडीबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा १ महिलाको मृत्यु, स्थानीयद्वारा ट्रिपरमा अागजनी

काठमाण्डौ, ३० जेष्ठ । काठमाडौंको जडीबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बा ४ ख ३५५८ नम्बरको ट्रिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकी काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको हो ।

आक्रोशित स्थानीयबासीले ट्रिपरमा आगजनी गरी चक्काजाम गरेका थिए । जसका कारण कोटेश्वर, जडिबुटी, पेप्सीकोला तथा गठ्ठाघरमा जाम भएको थियो ।

ट्रिपरका चालक पृथ्वीनारायण नापितलाई पक्राउ गरिएको एसपी जोशीले जानकारी गराए । आगलागी गरिएको ट्रकलाई सडकबाट हटाइएको र सडकको अवस्था हाल सामान्य रहेको पनि जनाइएको छ ।