Breaking News

‘कार्यकारी राष्ट्रपतीय प्रणाली कांग्रेसलाई कुनैपनि हालतमा मान्य नहुने’

विराटनगर, ३० जेष्ठ । नेपाली कांग्रेसका नेता डा. शखर कोइरालले कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसलाई कुनैपनि हालतमा मान्य नहुने बताएका छन् ।

प्रेश युनियन मोरङले विराटनगरमा आज बिहान गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

बहुजाति, बहुभाषी भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति नमिल्ने र जनताले पनि त्यसलाई नस्वीकार्ने उनको तर्क थियो ।

नेता कोइरालालले आगामी पाँच वर्षसम्म कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गरे । कांग्रेस प्रतिपक्षमा बसेपनि विकास र सम्वृद्धिको एजेण्डामा भने पार्टीको सक्दो सहयोग रहने उनले बताए । एक प्रश्नमा उनले सरकारको विरुद्धमा आन्दोलन गर्ने बेला अहिले नआएको बताए । सरकारले न्यायालयलाई हस्तक्षेप गर्न खोजेको, मुलुकमा दण्डहीनता बढेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एक भएर खबरदारी गर्नुपर्ने उनले बताए ।

नेता कोइरालाले कांग्रेसबीचको गुट गुटका कारण पार्टी कमजोर बन्दै गएकाले कांग्रेसमा एकता आवश्यक रहेको बताए । आपसी लडाइँका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले अब महाधिवेशन बोलाएर कांग्रेसलाई एक ढिक्का बनाउनुपर्ने उनले बताए ।

नेता कोइरालालले संघीय सरकार प्रदेश सरकारलाई दिएको बजेट थोरै भएकाले संघीयता कार्यान्वयनमा समस्या पर्ने बताए । उनले संघीयता कार्यान्वयनसंगै सबै हक अधिकार अब प्रदेश र स्थानीय तहमा आइसकेको अवस्थामा संघीय सरकारले प्रदेस सरकारलाई बजेट विनियोजन गर्न कन्जुस्याँइ गर्न नहुने उनको भनाइ थियो ।

shares