विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख: डा. शेखर कोइराला

काठमाण्डौ, ३० जेष्ठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र समृद्धिको नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् ।

विराटनगरस्थित निजी निवासमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले राज्य संयन्त्रलाई आफ्नो हातमा लिएर सरकारले अधिनायकवादको अभ्यास गरिरहेको अारोप लगाएका हुन् ।

उनले भने, “वर्तमान सरकारले विकास र समृद्धिको नाममा न्यायपालिका, प्रदेशिक संरचनालाई हातमा लिने काम गरेको देखिन्छ, त्यसले सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको संकेत गर्दैछ ।”

कांग्रेस पनि विकास र समृद्धिको पक्षमा उभिएको भन्दै उनले विभिन्न बहानामा सरकार अधिनायकवादतर्फ उन्मुख भए कांग्रेसले खबरदारी गर्ने पनि बताए । हाल मन्त्रीहरूमा अनुगमन गर्ने प्रतिस्पर्धा नै चलेको भन्दै उनले उनीहरूलाई ‘अनुगमन मन्त्री’को संज्ञा दिए ।

मन्त्रीको काम अनुगमन गर्ने नभई कानून निर्माण गरी बेथिति बढाउनेलाई आवश्यक कारबाही गर्ने भएको भन्दै उनले अनुगमन गर्ने निकायलाई सक्रिय बनाउन सुझाएका थिए ।