Breaking News

यस्ता छन् ट्रम्प-किम सहमति-पत्रका मुख्य चार बुँदा

काठमाण्डौ, २९ जेष्ठ । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालार्इ निशस्त्रीकरण गर्ने सम्बन्धमा एउटा संयुक्त सहमतिमा हस्ताक्षर गरेका छन् ।

उक्त सहमति पत्रमा प्योङयाङलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु-निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने विषय उल्लेख गरिएको छ । सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्धको पनि वाचा गरेको छ । ‌

ट्रम्प-किम घोषणापत्रका मुख्य चार बुँदा यसप्रकार छन्:

१) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी-उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन् ।

२) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्राय:द्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउनेछन् ।

३) सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निरस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।

४) संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँछन् ।

सिङ्गापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो र सफल भएको जानकारी दिए ।

shares